
मुग्लिन–नागढुंगा सडक तीन दिन राति ६ घण्टा बन्द हुने
हेटौँडा – मुग्लिन–नागढुंगा सडक खण्ड तीन दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले चैत १७ गतेदेखि चैत १९ गतेसम्म प्रत्येक रात १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रशासनका अनुसार निर्माण कार्यलाई तीव्रता दिन र सडकमा पटक–पटक हुने अवरोधलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको हो । उक्त समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।
मुग्लिन–नागढुंगा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत भिरकाटानी तथा अन्य प्राविधिक कार्य गर्नुपर्ने भएकाले यात्रुको सुरक्षा र कामको सहजताका लागि राति सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।



कागजपत्र |
