एक महिना बेपत्ता भएका यमराज लिम्बू मृत फेला


ताप्लेजुङ-  एक महिना सात दिनदेखि सम्पर्कविहीन रहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको म्याङलुङ घर भई ताप्लेजुङस्थित निर्माणाधीन अपर तमोर जलविद्युत आयोजनामा कार्यरत ४० वर्षीय यमराज लिम्बू मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार लिम्बूको शव चैत १५ गते फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमस्थित मेथेन खोलामा फेला परेको हो।

लिम्बू तेह्रथुमको म्याङलुङ नगरपालिका–१ गैरी गाउँका स्थायी बासिन्दा हुन्। उनी फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा निर्माणाधीन अपर तमोर जलविद्युत आयोजनामा कार्यरत थिए। प्रहरीका अनुसार उनी २०८२ साल फागुन ८ गते “घर जान्छु” भन्दै हिँडेका थिए, त्यसपछि भने सम्पर्कविहीन भएका थिए।

लामो समयसम्म परिवार र कार्यस्थलसँग सम्पर्कमा नआएपछि २०८२ साल चैत १ गते जिल्ला प्रहरी कार्यालयमा हुलियासहित खोजतलासका लागि निवेदन दर्ता गरिएको थियो। सोही निवेदनका आधारमा प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।

खोजतलासकै क्रममा चैत १५ गते मेथेन खोलामा बेवारिसे शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो। घटनास्थलमा भेटिएको शवको विवरण निवेदनमा उल्लेख हुलियासँग मिलेपछि उक्त शव यमराज लिम्बूकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया