आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति


काठमाडौं — वैदेशिक रोजगार विभागले आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था बनाउन निर्देशन दिएपछि विभागले उक्त निर्णय गरेको हो । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ।

तोकिएको कागजात पेश भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने व्यवस्था गरिएको विभागले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले सुधारका काम अघि बढाउने निर्णय गरेको थियो ।

सरकारले चैत १३ गते ल्याएको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमाथि छलफल गर्दै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित एवम् सुरक्षित बनाउन तथा श्रमिकको हकहितको संरक्षण गर्न विभिन्न कार्ययोजना बनाएर कार्यान्वयन गर्न मन्त्री साहले निर्देशन दिएका थिए ।

प्रतिक्रिया