बागलुङमा एक हजारका नक्कली नोट फेला


बागलुङ- बागलुङ बजारमा एक हजार दरका नक्कली नोट फेला परेका छन्। विभिन्न सेवाग्राहीहरूले बैंकमा जम्मा गर्न ल्याएका नोटहरू जाँच गर्दा नक्कली भएको पुष्टि भएको हो।

नेपाल बैंक लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार बागलुङ बजारका विभिन्न बैंकहरूमा १८ वटा भन्दा बढी एउटै नम्बरका एक हजार दरका नोट फेला परेका छन्।

उनका अनुसार नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकमा जम्मा गर्न ल्याइएका नोटहरू नक्कली रहेको पाइएको हो।

नोटहरूको नम्बर एउटै दोहोरिन थालेपछि थप सतर्कता अपनाउन सर्वसाधारण तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ। नक्कली नोटमा प्रयोग गरिएको कागजको गुणस्तर, राष्ट्रिय फूल, स्टिकर तथा अन्य सुरक्षात्मक चिन्हहरू फरक देखिएको समेत जनाइएको छ।

प्रतिक्रिया