
नयाँ पार्टीको सुशासनमै प्रश्न: सांसदले गरे काठमाडौं विश्वविद्यालयमा भाई नियुक्ति
काभ्रे- काभ्रेमा पुनः एकपटक राजनीतिक नियुक्तिको विषयले बहस तातेको छ। सुशासनको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वयं सुरूमै प्रश्नको घेरामा परेको छ ।
काभ्रेबाट समानुपातिकको सूचीमा परेका डा. राम लामा सांसद बनेपछि काठमाडौं विश्वविद्यालयअन्तर्गतको एक महत्वपूर्ण पद रिक्त भएको थियो।
उक्त पदमा योग्य व्यक्तिबीच खुला प्रतिस्पर्धाबाट छनोट हुने अपेक्षा गरिँदै आएको पनि सो प्रक्रिया नपनाई डा. लामाकै भाईलाई नियुक्ति दिएको खुलेको छ ।
डा. लामा सांसद भएपछि रिक्त भएको पदमा ‘एकेडेमिया इन्डष्ट्री कोअर्डिनेटर’ पदमा उनकै सहोदर जुम्ल्याहा लक्ष्मण लामालाई नियुक्ति दिइएको खुलेपछि सुशासनको हुँकार गर्दै आएको रास्वपाको बोली र व्यवहारको भिन्नता छर्लंग देखिन थालेको छ ।
केयूको कार्यकारी परिषदले डा. लामाका जुम्ल्याहा भाई लक्ष्मण लामालाई ‘एकेडेमिया इन्डष्ट्री कोअर्डिनेटर’ मा नियुक्त गरेको हो ।
स्रोतका अनुसार, प्रतिस्पर्धा गराएर योग्यतम व्यक्तिलाई अवसर दिनुपर्ने स्थानमा आफ्नै नजिकको व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै आलोचना सुरु भएको छ। यसले रास्वपाले उठाउँदै आएको सुशासन, पारदर्शिता र नैतिकताको सवालमै प्रश्न खडा गरेको छ।
यसअघि सोही दलले राजनीतिक नियुक्ति नगर्ने भन्दै नैतिक दबाब सिर्जना गरेको थियो। नयाँ सरकारलाई सहज बनाउने भन्दै आफ्ना तर्फबाट नियुक्ति पदबाट राजीनामा दिने निर्णयसमेत सार्वजनिक गरेको थियो। तर पछिल्लो घटनाले उक्त प्रतिबद्धतासँग मेल नखाने टिप्पणी हुन थालेको छ।
राजनीतिक वृत्तमा अब मुख्य प्रश्न उठेको छ- योग्यता र प्रतिस्पर्धा कि नातावाद ? जनताको नजरमा अब स्पष्ट हुन बाँकी छ- नयाँ भनिएको अभ्यास वास्तवमै नयाँ हो, कि पुरानै शैलीको निरन्तरता ?



कागजपत्र |
