
मध्यपूर्व तनावबारे मोदीको चेतावनी: युद्ध लम्बिँदा गम्भीर असर पर्ने
काठमाडाैं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानसँग सम्बन्धित अमेरिका–इजरायल द्वन्द्व लम्बिँदै गए यसको प्रभाव गम्भीर र प्रतिकूल हुन सक्ने चेतावनी दिएका छन्।
मंगलबार राज्यसभा मा करिब २१ मिनेट सम्बोधन गर्दै मोदीले मध्यपूर्वको बढ्दो तनाव भारतका लागि आगामी दिनमा ठूलो परीक्षा बन्न सक्ने बताएका हुन्।
व्यापार मार्ग प्रभावित भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “हाम्रा जहाज र भारतीय चालक दलहरू होर्मुज जलडमरूमध्य मा फसेका छन्, जुन निकै चिन्ताजनक अवस्था हो।” उनले ग्यास, तेल र मलजस्ता अत्यावश्यक वस्तुको आपूर्तिमा असर परेको पनि उल्लेख गरे।
मोदीका अनुसार यस द्वन्द्वले विश्वव्यापी रूपमा दीर्घकालीन असर पार्ने सम्भावना छ। कोभिड–१९ महामारीको समय सम्झँदै उनले चुनौतीसँग जुध्न राष्ट्रिय एकता आवश्यक रहेको बताए।
उनले आपूर्ति शृङ्खला, इन्धन, मल, ग्यास र मुद्रास्फीति नियन्त्रणका लागि सातवटा अधिकार सम्पन्न समूह गठन गरिएको जानकारी दिए। यी समूहहरूले द्रुत तथा दीर्घकालीन रणनीति तयार गर्नेछन्।
साथै, व्यावसायिक जहाजमाथि आक्रमण र समुद्री मार्ग अवरुद्ध गर्नु अस्वीकार्य भएको उल्लेख गर्दै मोदीले भारतले कूटनीतिक माध्यमबाट ढुवानीलाई सहज बनाउने प्रयास गरिरहेको बताएका छन्।



कागजपत्र |
