राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने


काठमाडौं– प्रतिनिधिसभा निर्वाचनपछि ६ दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट कानुनले तोकेको मापदण्ड पूरा गर्दै ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय मान्यता हासिल गरेका हुन्।

राष्ट्रिय मान्यता प्राप्त दलले सरकारबाट विभिन्न सेवा–सुविधा पाउने व्यवस्था सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ मा उल्लेख छ। तर, सोही ऐनका कारण श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रमुख सचेतकको सुविधा पाउनबाट वञ्चित भएका छन्।

ऐनको दफा २ को (ञ) अनुसार प्रतिनिधिसभामा १० जना भन्दा बढी सदस्य भएको दलले मात्र प्रमुख सचेतक तोक्न पाउने व्यवस्था छ। तर श्रम संस्कृति पार्टीसँग ७ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ५ सिट मात्रै रहेकाले उनीहरूले उक्त सुविधा पाउने मापदण्ड पूरा गर्न सकेका छैनन्।

ऐनअनुसार प्रमुख सचेतकले सवारी सुविधा, दुई जना चालक, छुट्टै कार्यालय, कार्यालय सहयोगी तथा मासिक १५ हजार रुपैयाँ अतिथि सत्कार खर्च पाउने व्यवस्था छ। साथै प्रमुख सचेतकले उपसचिवस्तरको एक जना स्वकीय सचिव नियुक्त गर्न पनि पाउँछन्।

प्रतिक्रिया