
भोलि र पर्सि हावाहुरी र वर्षाको चेतावनी, अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध
काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा शुक्रबार ठूलो हावाहुरी र वर्षा हुने भएकाले अनावश्यक यात्राबाट बच्न र विशेष काम नपरी बस्न सबैलाई अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागको आगामी तीन दिनको पूर्वानुमान अनुसार, शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
साथै दाङ, नेपालगन्जसहित लुम्बिनी प्रदेशको तराई क्षेत्र र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान वरिपरि तीव्र हावाहुरी (करिब ११९ किमी प्रतिघण्टा) चल्ने प्राधिकरणले जनाएको छ। प्रि–मनसुनको समयमा तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, साथै विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम उच्च रहेको छ।
प्राधिकरणले नागरिकहरूलाई घरको झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भीडभाडमा नआत्तिन र भागदौड नगरी सुरक्षित स्थानमा पुग्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै, हावाहुरीको समयमा कमजोर संरचना, अग्ला रुख, टेलिफोन वा बिजुलीको खम्बा तथा तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार छुन नहुने, विद्युतीय उपकरण प्रयोग नगर्ने र जोखिमयुक्त स्थानमा नबस्ने सावधानी अपनाउन पनि प्राधिकरणले सुझाएको छ।



कागजपत्र |
