

नेपाली सेनाको जिप दुर्घटना: पाँच घाइते, दुईको अवस्था गम्भीर

महोत्तरी- महोत्तरीको बर्दिबासमा नेपाली सेनाको टोली सवार बलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । मध्य पूर्वी पृतना तालिम शिक्षालय धारापानी धनुषाबाट बर्दिवासतर्फ आउँदै गरेको बा.२ झ ४६३ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर ३३ वर्षीय जमदार बुद्धमान राई र ३४ वर्षीय अमलदार सन्तोष विष्ट गम्भीर घाइते भएका छन् । यस्तै ३४ वर्षीय प्यूठ अमल थापा, २४ वर्षीय दशरथ थारु, ३८ वर्षीय नेपाली सेनाका सवारी चालक चेतराज राई पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक कैलाश खत्रीले बताए ।
उनीहरुको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरुलाई थप उपचारका लागि नेपाली सेनाको काठमाडौँस्थित छाउनी अस्पताल लैजान हेलिकप्टर मगाइएको छ । पानी तान्न मोटर लिन नेपाली सेनाको टोली बर्दिबास आउँदै गर्दा अगाडीको देब्रे साइडको चक्का पडकेपछि अनियन्त्रित भएर १० मिटर गहिरो खोल्सीमा खसेको हो ।

