
कञ्चनपुरमा कुकुरको टोकाइबाट १६ जना घाइते
कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा कुकुरको टोकाइबाट १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार भीमदत्त नगरपालिका–४ अन्तर्गत महेन्द्रनगर बजार क्षेत्रका विभिन्न स्थानमा एक कुकुरले मानिसहरूलाई टोकेपछि उनीहरू घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार घाइते सबैलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा भर्ना गरिएको छ। अस्पतालले घाइतेहरूको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको जनाएको छ।
कुकुरको टोकाइबाट घाइते हुनेमा भीमदत्त नगरपालिका–३ का २१ वर्षीय अविनाश बिष्ट, भीमदत्त–१८ का २० वर्षीय रोशन भट्ट, भीमदत्त–४ का ४५ वर्षीय जहिद मुस्लिम, बेदकोट नगरपालिका–३ की २१ वर्षीया मानमति जोशी, भीमदत्त–४ का ४० वर्षीय दिव्य सागर, भीमदत्त–१८ की १७ वर्षीया नन्दा सिंह र भीमदत्त–१८ का ३० वर्षीय किशोर बिष्ट रहेका छन्।
त्यस्तै, भीमदत्त–८ का ३२ वर्षीय निराजन चौधरी, भीमदत्त–१८ की १८ वर्षीया सृजना बिष्ट, भीमदत्त–४ का ६८ वर्षीय दुर्गादत्त पन्त, भीमदत्त–१८ का २२ वर्षीय पिरन्जल भट्ट, बैतडी सुर्नया गाउँपालिका–४ की २८ वर्षीया बेलु विक र शुक्लाफाँटा नगरपालिका–११ की २० वर्षीया शर्मिला ऐरी पनि घाइते भएका छन्।
यसैगरी, भीमदत्त–१८ की २८ वर्षीया लक्ष्मी नेपाली, बेदकोट नगरपालिका–१० की २६ वर्षीया खगेश्वरी जाग्री र भीमदत्त–१८ का २५ वर्षीय चन्द्रादत्त भट्ट पनि कुकुरको टोकाइबाट घाइते भएका छन्। डीएसपी शाहीका अनुसार कुकुरले अधिकांशलाई खुट्टामा टोकेको छ।
घटनापछि उक्त कुकुरलाई नियन्त्रणमा लिएर उपचारका लागि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रमा बुझाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
