कोभिडको त्रासमा न्यू इयर इभ: ग्राहक तान्ने होडमा पाँच तारे होटल, सस्तो प्याकेजको प्रतिष्पर्धा


काठमाडौं – विश्व नै कोभिडको त्रासमा रहेको बेला मुलुकमा नयाँ वर्ष वि.स २०७८ बुधबारबाट सुरु हुँदैछ । बुधबारबाट सुरुहुने नयाँ वर्षलाई स्वागत गर्न आजको रात आम मानिसहरु खुसियाली मनाउने जमर्को गरिरहेका हुन्छन् । आम नागरीकको सोही चाहनालाई मध्यनजर गर्दै कोभिड त्रासबीच नै आन्तरिक पर्यटकलाई लक्षित गर्दै काठमाडौंमा रहेका पाँचतारे होटलले न्यू इयर इभका लागि सस्तो योजना ल्याएका छन्।

कोभिड अघि साभ्रान्त र उच्च मध्यम वर्गको मात्रै पहुँच भएको तारे होटलमा सस्तो प्याकेजले मध्यम वर्गलाई समेत तानेको छ।

साेही क्रममा ठमेलस्थित अलोफ्ट काठमाडौंले वेलकम ड्रिंक्स, बफेट ब्रेकफास्ट, न्यु इयर इभ डिनर सहितको बसाइका लागि न्युनतम १० हजारदेखि १२ हजार ६ सय रुपैयाँसम्मको योजना सार्वजनिक गरेको छ। होटलले सिंगल अकुपेन्सीका लागि १० हजार रुपैयाँ र डबल अकुपेन्सीका लागि १२ हजार ६ सय रुपैयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

नयाँ वर्षका दिनको लागि भने होटलले दुई हजार ७८ रुपैयाँमै ल्याभिस बुफेट ब्रन्च र वेलकम ड्रिंक्स सहितको प्याकेज सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ६ वर्ष मुनिका ग्राहकलाई निःशुल्क सेवा दिइने छ भने ६(१२ वर्षसम्म उमेरका ग्राहकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको होटलले जनाएको छ। होटल अन्तर्गत नुक रेष्टुरेण्टमा आयोजना हुने यो इभेन्टमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म सहभागी हुन सकिने होटलले जनाएको छ।

यसैगरी होटल सोल्टीले नयाँ वर्ष लक्षित गाला बुफेट, स्न्याक्स, पेय पदार्थ, उपहार, डिजेसहितको योजना सार्वजनिक गरेको छ। होटलले रेगुलर प्याकेज अन्तर्गत चार हजार रुपैयाँमा खानपिनसँगै अनलिमिटेड सफ्ट ड्रिंक्स योजना सार्वजनिक गरेको छ।

होटलका अनुसार यो योजना अन्तर्गत ८-१२ वर्ष उमेरका ग्राहकलाई दुई हजार रुपैयाँमा खानपिनको व्यवस्था गरिएको छ भने सात वर्ष उमेर मुनिका ग्राहकलाई डाइनिङको निःशुल्क व्यवस्थ गरिएको छ। न्यू इयर इभलाई मध्यनजर गर्दै होटलले प्रति जोडीका लागि पाँच हजार रुपैयाँमै अकोमोडेसन र ब्रेकफास्टसहितको प्याकेज ल्याएको छ।

न्यू इयर इभलाई मध्यनजर गर्दै नक्सालस्थित काठमाडौं मेरियोट होटेलले ताहिना रेष्टुरेण्टमा मध्यपूर्वीय परिकारको सेवा सुरु गर्ने भएको छ।  साँझ ६:३० बजेदेखि राती १०:३० बजेसम्म आयोजना हुने इभेन्टमा ग्राहक मनोरञ्जनका लागि लाइभ ब्याण्ड म्युजिक, डिजेको व्यवस्था पनि गरिएको होटलले जनाएको छ। यो प्याकेजको मूल्य भेजका लागि पाँच हजार रुपैयाँ र नन-भेजका लागि पाँच हजार पाँच सय ५५ रुपैयाँ निर्धारण गरिएको छ।

लाजिम्पाटस्थित होटल र्‍याडिसनले नयाँ वर्ष लक्षित टेरेस गार्डेनमा विशेष परिकार पस्कने भएको छ। होटलले न्यू इयर इभको दिन आयोजना गर्न लागेको इभेन्टमा लाइभ म्युजिकसहित स्पेसल थाली पस्कने जनाएको छ। होटलका अनुसार यो प्याकेजको मूल्य प्रति व्यक्ति २५ सय रुपैयाँ निर्धारण गरिएको छ।

चन्द्रागिरी हिल्स रिसोर्टले न्यू इयर इभ लक्षित तीन हजार रुपैयाँमै गाला डिनरको योजना सार्वजनिक गरेको छ। यसैगरी रिसोर्टले प्रति जोडी आठ हजार रुपैयाँमै अकोमोडेसन प्याकेज सार्वजनिक गरेको छ। डिलक्स रुम अकोमोडेसन प्याकेज अन्तर्गत ग्राहकले दुईतर्फी निःशुल्क केबुल कार यात्रा, ब्रेकफास्ट, स्विमीङ पुल, ज्याकुजी लगायतको सुविधा लिन सक्ने रिसोर्टले जनाएको छ।

यस्तै दरबारमार्गको होटेल याक एण्ड यतिले नयाँ वर्षका लागि ल्याएको अफरमा प्रतिव्यक्ति र जोडीका लागि छुट्टाछुट्टै सहुलियत दरमा डिनरसहित स्पेसल प्याकेज व्यवस्था गरेको छ। बजार निर्देशक सागरचन्द्र बान्तवाका अनुसार सरकारको राति ९ बजेपछि व्यवसाय बन्द गर्ने निर्देशनलाई ध्यानमा राख्दै त्यसअघि सेवा लिन आउने ग्राहकहरुका लागि विशेष प्याकेज ल्याइएको हो।

 

प्रतिक्रिया