०७७ सँगै अस्ताएका हस्तीहरू


काठमाडौं– मंगलबारदेखि नेपाली बर्ष २०७७ को सूर्यास्त हुनेछ र बुधबार ०७८ को उदय। यो वर्ष संसारभर एउटा ऐतिहासिक घटनाहरुका लागि परिचित हुनेछ । कोरोना महामारीको कहरबीच सुरु भएको बर्ष ०७७ कुनै पनि क्षेत्रलाई फलदायी रहन सकेन ।

कोरोना महामारीका कारण विश्वका लाखौं मानिसहरुको निधन भयो । यस्तैमा कोरोना वा अन्य कारण पनि राजनीतिज्ञ, नेपाली चलचित्र उद्योगले आफ्ना धेरै दिग्गजहरु गुमायो।

नविन्द्रराज जोशी, कांग्रेस नेता

मस्तिष्कघात भइ एक महिनादेखि नर्भिक अस्पतालमा उपचारका क्रमाम कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको ४ चैतमा निधन भयो।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।

जोशी काठमाडौँ महानगरपालिकाका पूर्वउपमेयर थिए। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी ०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए।

०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष (राज्यमन्त्री सरह) भएका थिए। जोशीले त्यसै बखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गरेका थिए ।

जोशीले०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए ।

जोशी ०६४, ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए । उनी पहिलो संविधानसभामा नेपाली कांग्रेस प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए।

दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए ।

सानु सिवा, सांसद

२८ असोजमा प्रतिनिधिसभा सदस्य रहेकी सानु सिवा पहाडीले संसार त्यागिन्। पहाडी तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्। उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो।

केही वर्षअघि मृगौला प्रत्यारोपण गराएकी सांसद शिवाको मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। शिवा इलाम जिल्लामा तत्कालिन नेकपा एमालेबाट राजनीतिमा सक्रिय थिइन्। उनी संस्कृतिकर्मी पनि थिइन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानु सिवाको निधन भएपछि रिक्त स्थानमा सिराहकी जानकीदेवी रामलाई समानुपातिक सांसद निर्वाचित गराए।

सूर्यबहादुर केसी, सांसद

१८ कात्तिकमा पनि कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भयो। कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको हो ।

६३ वर्षीय केसी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए। उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद थिए।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापका बिरामी रहेका केसी ०७४ सालमा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थिए। पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए।

प्रतिनिधिसभा सदस्य केसीको निधनपछि रिक्त रहेको स्थानमा नेपाली कांग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे संघीय सांसद बनेका छन्।

अर्जुननरसिंह राणा, पूर्वप्रधानसेनापति

२३ चैतमा पूर्वप्रधानसेनापति अर्जुननरसिंह राणाले संसार छोडे । वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत राणाको ९१ वर्षको उमेरमा निधन भएको थियो।

राणाको कोरोना भाइरस सङ्क्रमणपछि भएको निमोनियाका कारण निधन भएको अस्पतालको दावी छ। राणा वि.सं.२०४०, जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए।

कमानसिंह लामा, नेता

गत २५ मंसिरमा कोरोना संक्रमणबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वसांसद एवं दक्षिण कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामाको निधन भयो।

लामालाई कोरोना संक्रमण भएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको थियो।

मधुमेह र उच्च रक्तचापका बिरामी समेत रहेका लामाले फेसबुकमार्फत आफूलाई कोरोना लागेको भन्दै अस्पताल भर्ना भएको फोटो समेत फेसबुकमा पोष्ट गरेका थिए।

काभ्रेको चौरीदेउराली गाउँपालिका घर भएका लामा २०४८ र २०६३ मा सांसद भएका थिए। दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेकपाको राजनीतिमा सक्रिय थिए ।

पारस गजमेर, गायक

नेपाली संगीत क्षेत्रमा संगीत साधक पारस गजमेरको विशेष योगदान रहेको छ। विशेष गरेर ९० को दशकमा उनीद्वारा लेखिएको तथा लय संयोजन गरिएका गीतहरूले श्रोताहरूको मन जित्न सफल बनेको थियो।

संगीत साधक पारस गजमेरको जन्म १७ अप्रिल १९६२ को दिन दार्जीलिङको चाँदमारीमा पिता (स्वर्गीय) देशराज गजमेर अनि माता (स्वर्गीय) मधु गजमेरको कोखबाट भएको थियो।

जब उनी तीन वर्षको भए, त्यसबेला उनलाई पोलियो रोगले समात्यो, जसले गर्दा उनको आँखाको ज्योति हरायो। यसैभएर उनको शिक्षादिक्षा विशेषप्रकारले दिव्याङग्यहरूका साथमा भयो ।

शब्दकार, लय संयोजक पारस सानैदेखि गिटार बजाएर गाउने गर्थे। उनले १९७९ मा संगीत जगतमा प्रवेश गरेका थिए। उनको शब्द अनि लय संयोजनमा नेपाली श्रोतासंसारले दुईवटा गीति एल्बम पायो (पहिलो, साँझको घाम अनि दोस्रो मेरो भाग्य ।)

उनै गायक पारसले समेत २०७७ सालमै संसार त्यागेका छन्। २०२१ जनवरी ५ मा उनको निधन भएको थियो।

रत्न शमशेर थापा, बरिष्ठ संगीतकार

१५ जेठमा बरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन भयो। थापाको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो। नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका थापाको ८३ वर्षको उमेरमा निधन भएको थियो।

२०१८ सालदेखि गीत लेख्न सुरु गरेका थापाले धेरै जसो चलचित्रका लागि पनि थुप्रै गीत लेखेका छन्। थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेखेका थिए।

उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन्।

फणिन्द्र दाहाल, पत्रकार

१४ माघ २०७७मा नेपाल पत्रकार महासंघ काठमाडौं शाखका सदस्य तथा ताजा खबर साप्ताहिकका सम्पादक फणिन्द्र दाहालको निधन भयो।

कोरोना संक्रमणबाट पीडित भएका दाहाललाई जण्डिस भएको थियो। स्वास्थ्यमा समस्या भएपछि वीर अस्पतालमा भर्ना गरिएको दाहालको उपचारको क्रममा निधन भएको थियो। दुुई दशकअघिदेखि पत्रकारिता शुरु गरेका दाहालको स्थायी घर सिन्धुली हो।

प्रतिक्रिया