
दोलखाको मालुमा मतदान पुनः सुरु
दोलखा – देशका अधिकांश स्थानमा मतदान प्रक्रिया सकिइसकेका बेला दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुको गोल्मेश्वर माध्यमिक विद्यालयको मतदानस्थलमा भने अहिले पनि मतदान भइरहेको छ।
बिहीबार बिहान मतदान सुरु हुनेबित्तिकै एउटा समूहले मतदानस्थलमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोज्दै ५६ बुक मतपत्र लुटेपछि त्यहाँको मतदान प्रक्रिया रोकिएको थियो।
घटनापछि दिनभरि विवाद जारी रहेकामा साँझ सर्वदलीय बैठक बसेर सहमति भएपछि मतदान पुनः सुरु गरिएको हो। सहमति भएसँगै स्थानीय बासिन्दालाई माइकिङ गरेर मतदान केन्द्रमा आउन आह्वान गरिएको छ।
मतपत्र लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकास्थित तरुण दलका अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीविरुद्ध मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका अन्य चारजनालाई समेत नियन्त्रणमा लिइएको छ।
उता नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त घटनामा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन्। हराएका मतपत्र खोज्ने प्रयास भए पनि नफेला परेपछि मतदान अर्को दिन सार्ने अवस्था आएको थियो। तर सर्वदलीय सहमतिपछि अहिले मतदान प्रक्रिया पुनः सञ्चालनमा आएको हो।



कागजपत्र |
