
छिटपुट घटनाबाहेक शान्तिपूर्ण ढंगले मतदान सम्पन्न
काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ५ बजेसम्म सम्पन्न भएको छ। निर्धारित समयसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले भने त्यसपछि पनि आफ्नो मताधिकार प्रयोग गर्न पाएका छन्। निर्वाचन आयोगले समयभित्र केन्द्रमा पुगेका मतदातालाई मात्र मतदान गर्न अनुमति दिइएको जनाएको छ।
यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि ६ हजार ५४१ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य उम्मेदवार रहेका छन् भने समानुपातिकतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला उम्मेदवार चुनावी मैदानमा थिए।
देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका थिए। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। प्रारम्भिक विवरणअनुसार यसपटक ५० प्रतिशतभन्दा बढी मतदान भएको जनाइएको छ।
निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र स्थापना गरिएको थियो। साथै १४३ अस्थायी मतदान स्थल पनि तोकिएका थिए। मतदानका क्रममा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती मतदातालाई प्राथमिकता दिइएको थियो।
सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको थियो। मतदान सञ्चालनका लागि करिब २ लाख १५ हजार कर्मचारी खटिएका थिए।
निर्वाचन आयोगका अनुसार छिटपुट घटनाबाहेक देशभर मतदान प्रक्रिया समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।



कागजपत्र |
