
झापाका लागि उडेको बालेन सवार हेलिकोप्टर काठमाडाैं नै फर्काइयो
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर फेरि काठमाडौं फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको ५ मिनेटभित्र पुनः काठमाडौंमा नै अवतरण भएको हो ।
बालेनले आज बिहान काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण ईंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । उनी काठमाडौं २ का मतदाता हुन् ।
मतदानपश्चात उनी आफू उम्मेदवार रहेको झापा ५ का लागि प्रस्थान गरेका थिए । तर, बीचबाटै हेलिकोप्टर फर्काइएको नागरिक उड्यन प्राधिकरणले पुष्टि गर्यो ।
बालेनको हेलिकोप्टर १०ः१० मा काठमाडौं ल्यान्ड भएको बुझिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राविधिक वा निर्देशनका आधारमा नभएर आफैं फर्किएको बताए ।
उनले भने, ‘अझै पनि उहाँहरु जान्छु भन्दा कुनै रोकतोक छैन’
आजै कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाटै आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् ।



कागजपत्र |
