दार्चुलाका दुई मतदान केन्द्रमा ‘नो भोट’, सुरु भएन मतदान


दार्चुला- दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीयले ‘नो भोट’ अभियान चलाएपछि मतदान सुरु हुन सकेको छैन।

अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय (झुस्कु) मा स्थानीय कोही पनि मत हाल्न नआएपछि मतदान सुरु हुन नसकेको हो। यस मतदान केन्द्रअन्तर्गतका मतदाताले निर्वाचनमा सहभागी नहुने निर्णय गरेका कारण अहिलेसम्म मतदान प्रक्रिया अघि बढ्न सकेको छैन।

यसअघि नै दार्चुलाको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर आधारभूत विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कुका मतदाताले मतदान बहिष्कार गर्ने निर्णय गरेका थिए।

नागुका बासिन्दालाई मतदानमा सहभागी गराउन सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढीबाट नागु पुगेका थिए। उनले स्थानीयसँग छलफल गरे पनि उनीहरू आफ्नो निर्णयबाट पछि हटेनन्।

माघ १ गतेदेखि ‘नागु विकास संघर्ष समिति’ गठन गरेर ‘नो भोट’ अभियान सुरु गरेका स्थानीयले यसपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय कायम राखेको समितिका संयोजक करनसिंह डडालले बताए।

उनका अनुसार प्रदेश सरकारको पहल ढिलो भएको र आगामी बजेटमा माग सम्बोधन गर्ने आश्वासन दिए पनि स्थानीयले विश्वास नगरेका कारण मतदान नगर्ने निर्णय यथावत राखिएको हो।

यसअघि माघ २४ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली पनि स्थानीयलाई मतदानका लागि मनाउन नागु पुगेको थियो। तर स्थानीयले आफ्नो अडान परिवर्तन गरेनन्। नागुस्थित गौरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा ६०२ मतदाता रहेका छन्।

यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले वडा विभाजनको माग गर्दै फागुन १५ गतेदेखि ‘नो भोट’ अभियान सुरु गरेका छन्। २०७४ सालमा गरिएको वडा विभाजनपछि वडा कार्यालय अपायक स्थानमा रहेको भन्दै वडा पुनः विभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरिएको स्थानीय कमलसिंह रोकायाले बताए।

उनका अनुसार पुनः मतदान अधिकृतको उपस्थितिमा बसेको बैठकमा समेत मतदान नगर्ने निर्णय दोहोर्‍याइएको थियो।

दुधिला आधारभूत विद्यालय मतदान केन्द्रअन्तर्गत झुस्कु, चौड, छविस र भट्टार गाउँका मतदाताले मतदान नगर्ने अडान कायम राखेका छन्। यस मतदान केन्द्रमा ३४६ मतदाता रहेका छन्।

प्रतिक्रिया