
‘तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने अवस्था छैन’
काठमाडौं- पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले हाल नेपालमा पेट्रोलियम पदार्थको तत्काल अभाव सिर्जना नहुने बताएका छन्।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन्।
उनले भने, “समय–समयमा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव देखिएको छ। यसर्थ, पश्चिम एसियामा द्वन्द्व हुँदा पनि नेपालमा एक किसिमको अभावको त्रास फैलिनु स्वाभाविक हो। तर समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम अभाव हुने अवस्था छैन।”
घिमिरेका अनुसार हालको द्वन्द्वले उत्पादन घट्ने र आपूर्ति श्रृंखलामा समस्या आउन सक्छ, तर त्यसको प्रभाव नेपालमा तत्काल महसुस हुने अवस्था छैन। केही दिनअघि मात्र ग्यास अभावको त्रास फैलिँदा पनि जनमानसमा इन्धन नै अभाव हुने आशंका उत्पन्न भएको थियो।
उनले थपे, “अन्य इन्धनको तुलनामा ग्यास आपूर्ति श्रृंखला फरक किसिमको छ। हाम्रो देशमा ग्यासको बुलेट भारतबाट मात्र आपूर्ति हुन्छ, र ढुवानीकर्ता पनि भारतकै कम्पनीहरू हुन्। यही कारण बुलेटको अस्थायी अभाव र भारतीय आयातकर्ताको प्राथमिकता भारतमै ढुवानी गर्नु नेपालमा समस्या पैदा गर्ने गर्दछ।”



कागजपत्र |
