
म बाँच्ने दिनभन्दा बढी बाँचिसकेँ, तर भविष्यका लागि लड्दै छु : ओली
काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा केपी शर्मा ओलीले ‘देश पहिले’ भन्ने मूल भावनाका साथ नेकपा एमाले को पक्षमा मतदान गर्न नागरिकलाई भिडियो सन्देशमार्फत आह्वान गरेका छन्।
ओलीले भदौ २४ मा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र प्रहरी चौकीमा भएको आगजनी स्मरण गर्दै ती घटनामा संरचना मात्र होइन, जनताको सपना पनि जलेको दाबी गरे। जीवनको उत्तरार्धमा चुनावी प्रतिस्पर्धामा उभिएको उल्लेख गर्दै उनले देश र संविधानको रक्षाका लागि आफ्नो दललाई मत दिन आग्रह गरे।
उनले नागरिकलाई सम्बोधन गर्दै भने, “मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस्। मेरा बाँकी बाँच्ने दिन बाँचिसकेका दिनभन्दा कम छन्, तर म तीका लागि लड्दै छु, जसका बाँच्ने दिन अझै धेरै बाँकी छन्। त्यसैले म देश पहिले भन्छु। अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ।”
ओलीका अनुसार ‘देश पहिले’ भन्नुको अर्थ संविधान, नियम, भूमि र जनता पहिलो स्थानमा राख्नु हो। “संविधान बचे मात्र तपाईंका अधिकार बाँच्छन्,” भन्दै उनले बोल्ने, बाँच्ने, न्याय पाउने र मताधिकारको सुनिश्चितता निर्वाचनमार्फत हुनुपर्ने बताए। संविधान नहल्लिने, नियम नमिचिने र अधिकार नकुल्चिने ग्यारेन्टी आजको मुख्य आवश्यकता भएको उनको भनाइ छ।
सार्वजनिक सम्पत्तिको संरक्षणलाई पनि ‘देश पहिले’ को अभिन्न अङ्ग बताउँदै ओलीले सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय र सुरक्षा निकाय नागरिककै कर र भरोसाबाट बनेका संरचना भएको स्मरण गराए। “यी जल्दा भरोसा मात्र होइन, सपना पनि जलेका छन्,” भन्दै अब यस्ता संरचना कहिल्यै नजल्ने ग्यारेन्टी आवश्यक रहेको उनले जोड दिए।
उनले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई आत्मबलको आधारका रूपमा चित्रण गर्दै आफ्नो माटो, सिमाना र पहिचानमा गर्व गर्ने शक्ति नै राष्ट्रको मेरुदण्ड भएको बताए। जीवनको अन्तिम मोडमा उभिएर राष्ट्रको पक्षमा बोल्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै ओलीले नागरिकलाई इतिहासको कठघरामा उभिन नपरोस् भन्ने चेतावनीसमेत दिए।
“यतिबेला तपाईं कुन कित्तामा उभिनुहुन्छ भन्ने स्पष्ट नगरे भविष्यमा आफैंलाई माफ गर्न सक्नुहुन्न,” भन्दै उनले राष्ट्रको पक्षमा उभिन नैतिक साहस देखाउन आग्रह गरे।



कागजपत्र |
