सुनिल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा सुनुवाइ सुरु


काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उच्च कम्प्युटर पूर्वाधार खरिदको नाममा भएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ । केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जना र एक निजी कम्पनीविरुद्ध दायर मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट तथा न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली तथा वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उक्त कम्पनीका अध्यक्ष अरुण श्रेष्ठ पनि प्रतिवादी छन् ।

आयोगका अनुसार केन्द्रका लागि ‘हाइ कम्प्युटर इन्फ्रास्ट्रक्चर’ खरिद गर्ने क्रममा मिलेमतो गरी बोलपत्रमा उल्लेखित मापदण्डभन्दा कम क्षमताको प्रोसेसर जडान गरिएको गुणस्तरहीन सामग्री आपूर्ति गरिएको थियो । यसबाट राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको अख्तियारको दाबी छ ।

आर्थिक वर्ष २०७६–७७ मा प्रकाशित बोलपत्रअनुसार उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार पारिएको थियो । सोही आधारमा २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरिएको अख्तियारले जनाएको छ ।

तर आपूर्ति, डेलिभरी, स्थापना तथा सञ्चालनका क्रममा तोकिएको स्पेसिफिकेशनअनुसारको प्रोसेसर नजडान गरिएको स्टोरेज सामग्री आपूर्ति गरी झुट्टा कागजातका आधारमा भुक्तानी लिने–दिने कार्य गरिएको अभियोग छ । यसरी गुणस्तरहीन सामग्री स्वीकार गरेर ठेकेदार कम्पनीलाई करोडौँ रुपैयाँ भुक्तानी दिइएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार प्रतिवादीहरूले आपूर्तिकर्ता कम्पनीसँग बदनियतपूर्वक मिलेमतो गरी सर्त र मापदण्डविपरीत काम गराएका हुन् । सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले सुनिल पौडेलविरुद्ध थप सजायको मागदाबीसमेत गरिएको छ ।

प्रतिक्रिया