
निर्वाचन बिथोल्ने प्रयास असफल हुन्छन् : निर्वाचन आयोग
काठमाडौं- निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले तोकिएकै मिति र समयमा निर्वाचन हुने भएकाले कुनै भ्रममा नपरी ढुक्क भएर तयारीमा जुट्न सबै उम्मेदवार र राजनीतिक दललाई आग्रह गरेका छन्।
गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरिरहेको भए पनि ती प्रयास सफल नहुने स्पष्ट पारे। निर्वाचनको कुनै विकल्प नभएको उल्लेख गर्दै उनले जसरी पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने जिकिर गरे।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अझै पनि केही उम्मेदवारहरू निर्वाचनबारे संशय व्यक्त गर्दै फोन गर्ने गरेको बताउँदै यस्ता हल्ला र भ्रममा नपरी प्रचारप्रसारमा सक्रिय हुन सुझाव दिए। उनका अनुसार केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउन सक्ने भए पनि अब नेपाली जनता त्यस्ता प्रायोजित भ्रमका साक्षी बस्न नसक्ने अवस्थामा पुगेका छन्।
उनले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नरहने दाबी गर्दै राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू पनि निर्वाचनबाहेक अर्को विकल्प नरहेको निष्कर्षमा पुगेको बताए। नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूले निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरिसकेको उनको भनाइ छ।
सुशासन स्थापनाको पवित्र उद्देश्य बोकेका नागरिकलाई भ्रममा पारेर अस्थिरता सिर्जना गर्ने प्रयास असफल हुने उनले बताए। निर्वाचन विथोल्ने वा अस्थिरता फैलाउने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले नजिकबाट अनुगमन गरिरहेको समेत उनले स्पष्ट पारे।



कागजपत्र |
