
सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना हुँदा १ जनाकाे मृत्यु, ७ घाइते
सिन्धुपाल्चोक — जिल्लाबाट चीन जोड्ने कोदारी राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–दशकिलोमा शुक्रबार राति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काका अनुसार बा प १–०३० च ३४८० नम्बरको बोलेरो पार्किङमा राखिएको कन्टेनरको टेलरसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बाह्रबिसे नगरपालिका–२ दुरुम्थलीका सुजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ‘दुर्घटना राति करिब ११:४५ बजे भएको प्रारम्भिक जानकारी आएको छ, घटना कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ,’ प्रनि खड्काले भने ।
प्रहरीका अनुसार बोलेरोमा सवार ७ जना घाइते भएका छन् । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि केही खाडीचौरस्थित सिन्धु सदावहार अस्पताल र केही काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



कागजपत्र |
