
बंगलादेशमा नवनिर्वाचन प्रधानमन्त्रीको शपथ आज
काठमाडौं – बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको शपथ लिँदै छन्। गत बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बीएनपीले दुई तिहाइभन्दा धेरै सिट जितेको थियो।
बङ्गलादेशको संसद भवनको दक्षिण प्लाजामा शपथ समारोह राखिएको छ। बिहान १० बजे सांसदको शपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथको तयारी गरिएको बङ्गलादेशी सञ्चारमाध्यम द डेलिस्टारले जनाएको छ।
विगतमा शपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो। यो राष्ट्रपतिको आवास पनि हो। बङ्गलादेशी सञ्चारमाध्यमहरूका अनुसार यस पटक ठूलो संख्यामा अतिथि निम्त्याइएका कारण संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको हो।
नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा शपथ समारोहमा सहभागी हुँदैछन्। त्यसका लागि उनी सोमबार ढाका प्रस्थान गरेका छन्।
परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
भारतबाट लोकसभा सभामुख ओम बिर्ला सहभागी हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसैगरी पाकिस्तानबाट योजना तथा विकासमन्त्री अहसन इकबाल सहभागी हुँदै छन्।
२ सय ९९ स्थानमा भएको निर्वाचनमा २ सय ९७ सिटको मतगणना हुँदा बीएनपीले २ सय ९ सिट जितेको थियो। बाँकी दुई सिटमा अदालतले मतगणना रोक्न आदेश दिएको थियो।
कुल ३ सय प्रत्यक्ष सिटमध्ये एक सिटमा उम्मेदवारको निधनले निर्वाचन स्थगित भएको थियो। बङ्गलादेशको संसदमा कुल ३ सय ५० सिट छ।
त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ। यसमा पार्टीहरूले प्रत्यक्षतर्फ ल्याएको मतभारलाई आधार मानेर समानुपातिक रूपमा प्रतिनिधि चयन गरिन्छ।
नयाँ संसदमा जम्मा आठ दलको प्रतिनिधित्व हुनेछ, जसमध्ये पाँच दलका शीर्ष नेताहरू पहिलो पटक सांसदका रूपमा निर्वाचित भएका हुन्।
बीएनपीका २ सय ९ सांसदमध्ये १ सय ३२ नयाँ हुन्। जमात–ए–इस्लामीका ६८ सांसदमध्ये ५९ जना नयाँ छन्।
विद्यार्थी आन्दोलनपछि जन्मिएको नेसनल सिटिजन पार्टी एनसीपीका सबै ६ सांसद नयाँ हुन्। ७ स्वतन्त्रमध्ये ६ जना पहिलो पटक निर्वाचित भएका हुन्।



कागजपत्र |
