सदनमा सांसद प्रदिप यादवले गरे पूर्वयुवराज्ञी हिमानीको प्रशंशा
काठमाडौं– जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले प्रतिनिधि सभाको सोमबारको बैठकमा पूर्वयुवराज्ञी हिमानी शाहको प्रशंशा गरेका छन्।
विशेष समयमा बोलेका यादवले नागरिकता विषयमा बोल्ने क्रममा भारतीय नारीले राष्ट्रघात गर्ने भन्ने शंका उपशंका गलत रहेको बताउँदै उनले हिमानीको प्रशंशा गरेका हुन्।
‘कुन भारतीय नारीले राष्ट्रघात गरेका छन्? पारस शाह गाँजा खाएर हिँडे पनि संस्कार जोगाएकी छन् हिमानीले, उनी भारतीय नारी हुन्। उनले कहाँ राष्ट्रघात गरिन्?’, यादवले भने,‘नेपाली नारीले उनीबाट त संस्कार सिक्नुपर्ने होइन?’
सांसद यादवले नागरिकता नपाएर मधेसका युवा युवती समस्यामा रहेको उल्लेख गरे। यस्ता उपशंका नगर्नका लागि आग्रह गर्दै उनले भारतीय नारी राष्ट्रघाती नभएको भन्दै पशुपति शमशेर राणाकी पत्नीदेखि राजा महाराजाका बुहारीको उदाहरण दिएका थिए।