
इटालीसँग नेपालकाे शर्मनाक हार
काठमाडौं- आईसीसी पुरूष टी-२० विश्वकपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार भएको खेलमा नेपाल पहिलोपटक टी-२० विश्वकप खेल्न आएको टोली इटलीसँग १० विकेटले हारेको हो ।
नेपाल आजको खेल आफ्नो पक्षमा पार्दै टी-२० विश्वकपमा १२ वर्षपछि जित निकाल्ने दाउमा थियो । तर, पूरा हुन सकेन ।
१२ वर्षअघि टी-२० विश्वकप प्रतियोगितामा डेब्यू गरेको नेपालले सन् २०१४ संस्करणमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित हासिल गरेको थियो । तर, त्यसयता भने हिमाली राष्ट्रले विश्वकपमा जित निकाल्न सकेको छैन ।
टस हारेर ब्याटिङ थालेको नेपाल ठूला सट प्रहार गर्ने धुनमा १९.३ ओभरमा अलआउट हुँदै १२३ रनमा समेटिएको थियो । १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा विनाविकेट पूरा गर्यो ।
इटलीका लागि ओपनरद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले विस्फोटक ब्याटिङ गरे । जस्टिनले ६२ रन बनाउँदा एन्थोनीले ६१ रन जोडे ।
नेपालका कुनै खेलाडीले विकेट लिन सकेनन् । ललित राजवंशीले एकै ओभरमा १९ रन खर्चिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२३ रनमा समेटिएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २३, आसिफ शेखले २२ र दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान गरे । करण केसी १८ रनमा अविजित रहे ।
अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपालका अधिकांश ब्याटर ठूलो सट प्रहार गर्ने क्रममा क्याच आउट हुन पुगे ।
इटलीका लागि क्रिशन कालुगामागेले ३ तथा बेन मानेन्टीले २ विकेट लिए ।



कागजपत्र |
