
कार्यसम्पादन मूल्याङ्कन: सुदूरपश्चिम प्रदेश उत्कृष्ट, मधेस प्रदेश कमजोर
काठमाडौं- प्रदेश सरकारहरूको कार्यसम्पादन सूचकको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ११ वटा विभिन्न सूचकका आधारमा प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको हो।
आर्थिक वर्षको मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी ४५.७० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ भने मधेस प्रदेश सबैभन्दा कमजोर देखिएको छ।
सूचक अनुसार कोशी प्रदेश ४४.२९ अंकसहित दोस्रो र बागमती प्रदेश ४२.४६ अंकसहित तेस्रो स्थानमा रहेका छन्।
अन्य प्रदेशका अंक यस प्रकार छन्:
गण्डकी प्रदेश: ३७.९१
लुम्बिनी प्रदेश: ३४.७१
कर्णाली प्रदेश: ३२.२६
मधेस प्रदेश: २७.२८
मूल्याङ्कनका लागि प्रयोग गरिएका सूचकहरूमा बेरुजुको अवस्था, स्थानीय तहलाई दिइएको अनुदान, राजस्व परिचालन, पुँजीगत खर्च लगायतका क्षेत्र समावेश छन्।
आयोगका अनुसार स्थानीय तहलाई प्रदेश कानुन अनुसार सशर्त अनुदान दिने सूचक (सूचक २) मा सबै प्रदेशले फेल भएका छन्। त्यस्तै, वायु गुणस्तर सूचक (सूचक ९) मा सातै प्रदेशले शून्य अंक पाएका छन्, जसले प्रदेशहरूले वायु प्रदूषण नियन्त्रणमा काम नगरेको देखाउँछ।
तथापि, अनलाइन पोर्टलमा विवरण प्रविष्टि (सूचक ११) मा सबै प्रदेशले पास गरेका छन्, सातै प्रदेशले १०/१० अंक प्राप्त गरेका छन्।
आफ्नो अधिकार क्षेत्र भित्रको राजस्व परिचालन (सूचक ५) मा कोशी प्रदेश (१०.४) र सुदूरपश्चिम प्रदेश (१०.३४) उत्कृष्ट रहेको छ भने कर्णाली प्रदेशले शून्य अंक पाएको छ। बेरुजुको अवस्था (सूचक १) मा बागमती प्रदेशले सबैभन्दा राम्रो ४.२८५ अंक ल्याएको छ, जबकि कोशी र मधेस प्रदेशको अंक शून्य छ।



कागजपत्र |
