मोबाइल गेमको लतले एकै घरका ३ दिदीबहिनीले गुमाए ज्यान


गाजियाबाद, भारत –  उत्तर प्रदेशको गाजियाबादमा मोबाइल गेमको लतले त्रासदीपूर्ण घटना घटाएको छ। लामो समयदेखि अनलाइन गेममा फसेका एकै परिवारका तीन दिदी–बहिनीले मंगलबार राति घरको बालकोनीबाट हाम फालेर घटनास्थलमै ज्यान गुमाएका छन्।

टीला मोड थाना क्षेत्रअन्तर्गत भारत सिटी सोसाइटीको बी–१ टावर, फ्ल्याट नम्बर ९०७ मा बस्ने १६ वर्षीया निशिका, १४ वर्षीया प्राची र १२ वर्षीया पाखीले नवौं तलाबाट हाम फालेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा तीनै दिदी–बहिनी लामो समयदेखि मोबाइल गेम ‘कोरियन लभर’मा लतमा परेको खुलासा भएको छ। उनीहरू दैनिक जीवनका क्रियाकलाप (खाना खाने, सुत्ने, विद्यालय जाने) समेत मोबाइलमा आधारित गरेर बिताउँथे।

संवादको कमी र प्रविधिप्रति मोहले उनीहरूलाई वास्तविक संसारभन्दा भर्चुअल संसारमा बढी आत्मसात गराएको देखिएको छ। घटनास्थलबाट सुसाइड नोट बरामद गरिएको छ, जसमा उनीहरूले अभिभावकलाई सम्बोधन गर्दै लेखेका छन्, “मम्मी-पापा, सरी। जुन गेम तपाईंहरू हामीलाई छोडाउन चाहनुहुन्थ्यो, अब तपाईंहरूले बुझ्नुहुनेछ कि हामी त्यो गेमलाई कति माया गर्थ्यौं।”

प्रहरीले शवहरू पोस्टमार्टमका लागि पठाइसकेको छ र घटनाको बहुआयामिक पक्षबाट अनुसन्धान जारी छ। उनीहरूको परिवार गहिरो शोकमा डुबेको छ भने सोही क्षेत्रका बासिन्दा स्तब्ध छन्।

प्रतिक्रिया