
पश्चिमी प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा पुनः वर्षा र हिमपात
काठमाडौं- उच्च पहाडी तथा हिमाली क्षेत्रमा करिब एक सातापछि पुनः वर्षा र हिमपात भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज विशेषगरी पश्चिम नेपालका उच्च पहाडी र हिमाली भूभागमा सामान्य वर्षा तथा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हुम्लाको सिमिकोट, मनाङको ढिकुरपोखरीदेखि माथिल्लो क्षेत्रसहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका अधिकांश हिमाली क्षेत्रमा हिमपात भएको छ। उच्च पहाडका केही स्थानमा वर्षा पनि भएको उनले जानकारी दिए। यस्तै मध्य र पूर्वी नेपालका केही हिमाली क्षेत्रमा पनि हिमपात भएको छ।
मौसमविद् अधिकारीका अनुसार आज राति पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज दिउँसोपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बदली देखिएको छ। तराई क्षेत्रमा पनि सामान्य बदली भए पनि पहाडी तथा तराई क्षेत्रमा भने वर्षा भएको छैन। आज राति पनि ती क्षेत्रमा वर्षाको सम्भावना नरहेको उनले बताए।
यसैबीच, भोलिदेखि मौसम क्रमशः खुल्ने अनुमान गरिएको छ। बदलीसहित केही स्थानमा वर्षा र हिमपात गराएको प्रणाली कमजोर भइसकेकाले भोलि अधिकांश स्थानमा घाम लाग्ने मौसमविद् अधिकारीले बताए। उनका अनुसार केही ठाउँमा आंशिक बदली देखिए पनि त्यो लामो समय टिक्ने छैन।
काठमाडौँ उपत्यकासहित देशका धेरैजसो क्षेत्रमा घमाइलो दिन रहनेछ। प्रणालीको प्रभाव कम हुँदै गएपछि तराई–मधेश क्षेत्रमा लागेको हुस्सु पनि घट्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।



कागजपत्र |
