बजारमा एलपी ग्यासको कृतिम अभाव, के भन्छ निगम ?


काठमाडौं-  पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार खाना पकाउने एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ। जसका कारण उपभोक्ताले कृतिम अभाव झेलिरहेका छन् भने कालोबजारी मौलाउन सक्ने संकेत देखिएका छन्।

उता नेपाल आयल निगमले काठमाडौं उपत्यका सहित देशभर खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासोप्रति ध्यानाकर्षण भएको बताएको छ। निगमका अनुसार बजारमा ग्यासको कुनै अभाव छैन र आपूर्ति पूर्ण रूपमा सहज छ।

निगमका अनुसार जाडोयामको उच्च माग धान्न पर्याप्त मात्रामा इन्धन आयात भइरहेको छ। उद्योगीका लागि मासिक ४९,५०० टन कोटा निर्धारण गरिएकोमा, नोभेम्बर ४७,२६४ टन, डिसेम्बर ४८,५३१ टन र जनवरी ४७,३०४ टन ग्यास वितरण भइसकेको छ।

सिमित उद्योगका सिलिन्डरमा मात्र सामान्य समस्या देखिएको स्वीकार्दै, निगमले ती उद्योगलाई तत्काल आपूर्ति सहज बनाउने निर्देशन दिइसकेको जनाएको छ। केही व्यवस्थापकीय कारणले आएको समस्या चाँडै समाधान हुने र बजारमा सबै ब्रान्डको ग्यास सहजै उपलब्ध हुने निगमले विश्वास दिलाएको छ।

फेब्रुअरीका लागि निगमले आवश्यक तयारीसहित नियमित कोटामा २ हजार टन ग्यास थप गर्ने निर्णय गरेको छ।

निगमले उपभोक्तालाई कृत्रिम अभाव नसिर्जना गर्न र अनावश्यक भण्डारण नगर्न विशेष आग्रह गरेको छ।

प्रतिक्रिया