
बालेनको चुनावी अभियानमा अछाम पुगेर बेहोस भएका पत्रकारको निधन
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानका क्रममा अछाम पुगेका पत्रकार तथा युट्युबर दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
सिटौला अछाममा चुनावी अभियानका क्रममा एकाएक बेहोस भएपछि गम्भीर अवस्थामा नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमार्फत काठमाडौं ल्याइएका थिए। अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चिकित्सकका अनुसार उनी एन्युरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित थिए।
उनको निधनको खबरपछि परिवारका सदस्यहरू अस्पताल पुगेका थिए। परिवारले पोस्टमार्टम नगर्ने निर्णय गरेको छ। सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड लगिने तयारी गरिएको छ। त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।
४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ छन्। उनी चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका थिए। नेपाली चलचित्र क्षेत्रका सयौँ फिल्मको प्रचार–प्रसारमा सक्रिय भूमिका निभाएका सिटौला सञ्चार क्षेत्रमा परिचित नाम थिए।
रास्वपा नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीसँगै सुदूरपश्चिम पुगेका सिटौला अछाममा अचेत अवस्थामा ढलेका थिए। उनको असामयिक निधनले सञ्चार र चलचित्र क्षेत्र शोकमा डुबेको छ।



कागजपत्र |
