सबैले पार्टी रोजे, मैले जनता रोजे : गोपाल हमाल


कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पार्टीभन्दा जनतालाई रोजेको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी राजनीतिभन्दा जनताको विश्वासलाई प्राथमिकतामा राखेको बताएका हुन्।

“सबैले पार्टी रोजे, मैले जनता रोजेँ,” हमालले फेसबुकमा लेखेका छन्। उनको यो अभिव्यक्ति स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरू धमाधम पार्टी राजनीतितर्फ उन्मुख भइरहेका बेला आएको हो।

स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय तह निर्वाचन जितेका चर्चित तीन मेयरमध्ये दुई जनाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताका रूपमा झापा–५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गर्दै सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका छन्।

तर हमालले भने आफूलाई धनगढीका जनताले पाँच वर्षका लागि मेयरको जिम्मेवारी दिएको उल्लेख गर्दै सोही म्यान्डेटअनुसार काम गरिरहेको दाबी गरेका छन्। उनले जनताले दिएको विश्वास र जिम्मेवारी अधुरो छोडेर अन्य पदको दौडमा नलाग्ने सन्देश दिन खोजेका छन्।

गोपाल हमाल २०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढीको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दा नेपाली कांग्रेसका नृपबहादुर वडसँग करिब २ हजार ७ सय मतले पराजित भएका थिए। तर २०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनले उनै वडलाई पराजित गर्दै मेयर पद जितेका थिए।

२०७९ को निर्वाचनमा हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत प्राप्त गरेका थिए। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका वडले १४ हजार ८१७ मत ल्याएका थिए भने तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया