थाई राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी लुम्बिनी भ्रमणमा


लुम्बिनी-  थाइल्यान्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। चार प्रमुख बुद्ध तीर्थस्थलको यात्राका क्रममा उनी बिहीबार बेलुका लुम्बिनी आइपुगेकी हुन्।

शुक्रबार बिहान उनले मायादेवी मन्दिरमा विशेष पूजा र दर्शन गरेकी थिइन्। त्यसपछि लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र योजना प्रमुख स्मिता भट्टले उनको स्वागत गरेका थिए।

४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन्। उनलाई थाई राजाले ‘शाही नोबल कन्सर्ट’ को उपाधि प्रदान गरेका छन्।

७० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनले बुद्धको महापरिनिर्वाणसँग सम्बन्धित चार प्रमुख स्थलहरूको भ्रमण गरेकी हुन्। भारतका बोधगया, सारनाथ र कुशीनगरको दर्शन सकेपछि उनी सुनौली नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन्। बौद्ध परम्पराप्रति गहिरो आस्था राख्ने बिलासकल्यानीलाई थाई राजाले भिक्षु–भिक्षुणीलाई दिइने ‘चौखुन फ्रा’ को उच्च उपाधि पनि प्रदान गरेका छन्।

लुम्बिनी भ्रमण र दर्शन सकिए लगत्तै उनी शुक्रबार दिउँसो २ बजे थाई एयर फोर्सको चार्टर्ड ७३७ बोइङ विमानमार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै थाइल्यान्ड फर्किएकी छन्।

प्रतिक्रिया