बाग्लुङ र बैतडीमा बाक्लो हिमपात


बागलुङ – ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।

हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानले गरेका छन् ।

यसैगरी बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।

हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।

त्यस्तै मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ ।

प्रतिक्रिया