
तनहुँमा पिकअप भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु, अर्का १ घाइते
तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिका–४ कोलडाँडास्थित कोलडाँडा–थर्पु भित्री सडकखण्डमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्युु हुनेमा म्याग्दे–४ कोलडाँडा निवासी बुद्धिबहादुर घर्तीकी १३ वर्षीया छोरी कोइस्का घर्ती रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब ७स्३० बजेको समयमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग ३ च ५८३५ नम्बरको पिकअप चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते कोइस्काको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। अस्पतालमा बिहान करिब ८ः४० बजेको समयमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको तनहुँ प्रहरीले जनाएको छ।
त्यस्तै, सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती छाती र कुममा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको जनाइएको छ । दुर्घटनाका बेला चालकसहित तीन जना उक्त भ्यानमा सवार थिए।



कागजपत्र |
