
राज्यका सबै तहमा युवा प्रतिनिधित्व आवश्यक : डा. शेखर कोइराला
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यका सबै तहमा युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
विराटनगरमा आयोजित युवासँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै कोइरालाले आफूले लामो समयदेखि युवा प्रतिनिधित्वको विषय उठाउँदै आएको स्पष्ट पारे। युवालाई अवसर र जिम्मेवारी नदिएसम्म देशको भविष्य सुरक्षित नहुने उनको भनाइ थियो।
उनले युवालाई तीन तहमा वर्गीकरण गर्दै प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अवधारणा अघि सारेको स्मरण गराए। “केन्द्रीय तहमा २० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्ने मेरो धारणा हो,” डा. कोइरालाले भने, “यसो गर्न सकिएमा मात्रै युवालाई यही देशमा रोकेर राख्न सकिन्छ।”
कोइरालाले पार्टीभित्र पनि आफूले युवालाई प्राथमिकतामा राख्दै अघि बढाएको दाबी गरे। १४औं महाधिवेशनमा युवालाई नेतृत्वमा ल्याउने आफ्नो पहलका कारण कांग्रेसभित्र युवाको प्रभाव उल्लेख्य रूपमा विस्तार भएको उनको भनाइ छ।
“देशलाई विकासको बाटोमा लैजान र जनतामा आशा जगाउन युवाको भूमिका निर्णायक हुन्छ,” उनले भने, “त्यही कारण मैले पार्टीभित्र युवालाई जिताएको हुँ।”



कागजपत्र |
