
डिजिटल अफवाह नियन्त्रणका लागि ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा
काठमाडौं- आगामी निर्वाचनलाई लक्षित गर्दै सरकारले ‘निर्वाचन प्रहरी साइबर सेल’ सञ्चालनमा ल्याएको छ। यस सेलमार्फत सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा अफवाह फैलाउने, गलत सूचना प्रवाह गर्ने र निर्वाचन प्रक्रिया प्रभावित पार्ने गतिविधि नियन्त्रण गर्ने काम गरिने छ।
मंगलबार गृह मन्त्री ओमप्रकाश आर्याल, गृह सचिव राजकुमार श्रेष्ठ र प्रवक्ता आनन्द काफ्लेले साइबर सेलको सुरुवातको जानकारी दिएका हुन्। उनीहरूका अनुसार निर्वाचन आयोगसँग समन्वय गर्दै डिजिटल माध्यममा देखिने शंकास्पद गतिविधिको निगरानी, नियमन र नियन्त्रण गर्न सेल सक्रिय गरिएको हो।
साइबर सेलले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममा देखिने अफवाह, भ्रामक सूचना र निर्वाचन केन्द्रित अनुचित गतिविधि पहिचान गरी आवश्यक परेमा निर्वाचन आयोगलाई जानकारी दिनेछ। आयोगले छानबिनपछि गलत वा भ्रामक सामग्री पुष्टि भएमा प्रविधिको सहायताले सामग्री हटाउने र कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउनेछ।
प्रवक्ता काफ्लेका अनुसार देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत अफवाह र गलत सूचना फैलाउने गतिविधि सूक्ष्म निगरानीमा राखिएको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्न डिजिटल माध्यमको दुरुपयोग रोक्नु अहिलेको प्रमुख चुनौती भएको र त्यसैका लागि साइबर सेललाई सक्रिय बनाइएको हो।
गृह मन्त्रालयले जनाएको छ, सामाजिक सञ्जालमा हुने दुष्प्रचार नियन्त्रण गर्ने, मतदातालाई भ्रममा पार्ने सामग्री रोक्ने र निर्वाचन प्रक्रिया सुरक्षित बनाउने उद्देश्यसहित यो सेल सञ्चालनमा ल्याइएको हो।



कागजपत्र |
