
झापामा बस र पिकअप ठोक्किँदा १८ महिने बालकको मृत्यु, १२ घाइते
झापा- कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १८ महिनाका एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको मालवाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मालवाहक गाडी (पिकअप) मा सवार कनकाई–३ निवासी १८ महिनाका आरुत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनामा घाइते भएका १२ जनामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ।
दुर्घटनापछि बस चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यता मालवाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
