नसर्ने रोगको उपचारमै सबैभन्दा बढी खर्च : मन्त्री गौतम


काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग (एनसिडी) को उपचार र यससँग सम्बन्धित जटिलतामा खर्च भइरहेको बताएकी छन्। एनसिडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अधिकांश नसर्ने रोगहरू रोकथाम गर्न सकिने भए पनि उपचारमा मात्रै केन्द्रित हुँदा राज्यको स्वास्थ्य बजेटमा ठूलो आर्थिक भार थपिँदै गएको बताइन्।

मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको गम्भीर वित्तीय खाडलप्रति समेत चिन्ता व्यक्त गरिन्। उनका अनुसार सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ र थप १ अर्ब गरी जम्मा ११ अर्ब रुपैयाँ बजेट छुट्याए पनि हालसम्म बीमा कार्यक्रमअन्तर्गतको खर्च २४ अर्ब रुपैयाँ नाघिसकेको छ।

स्थानीय तहले निःशुल्क उपलब्ध गराउनुपर्ने आधारभूत स्वास्थ्य सेवाका लागि समेत बीमाको रकम खर्च भइरहेको र जनताले निःशुल्क पाउनुपर्ने औषधिमा प्रिमियम तिर्नुपर्ने अवस्था सिर्जना हुँदा सरकारमाथि दोहोरो आर्थिक भार परेको मन्त्री गौतमको तर्क छ। अर्थ मन्त्रालयले यति ठूलो परिमाणको भुक्तानी धान्न नसक्ने अवस्थामा पुगेकाले बीमा प्रणालीको समग्र पुनरावलोकन आवश्यक रहेको उनले बताइन्।

सहरी स्वास्थ्य सेवाका चुनौतीतर्फ संकेत गर्दै मन्त्री गौतमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार विस्तार भए पनि सहरी क्षेत्रका विपन्न वर्गका लागि आधारभूत स्वास्थ्य सेवा अझै पहुँचबाहिर रहेको उल्लेख गरिन्। स्वास्थ्यकर्मीको वितरणमा देखिएको असमानता अन्त्य गर्न मन्त्रालयले तथ्याङ्कका आधारमा न्यायोचित सरुवा र पदस्थापनको तयारी गरिरहेको पनि उनले जानकारी दिइन्।

नेपालमा धुम्रपान नियन्त्रण र नसर्ने रोग व्यवस्थापनका लागि नीति र कानुन राम्रो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गर्दै मन्त्री गौतमले अब कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइन्। स्वास्थ्यकर्मीहरू सुगम क्षेत्रमा मात्र केन्द्रित हुने प्रवृत्तिले सेवा प्रवाहमा समस्या आएको भन्दै अब ‘इक्विटी’ अर्थात् न्यायका आधारमा स्वास्थ्यकर्मी परिचालन गरिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत सहभागी गराई स्वास्थ्य सेवा प्रवाहमा हुने खर्च घटाउने र सेवा प्रभावकारिता बढाउने विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।

प्रतिक्रिया