वीरगञ्ज तनावगस्त बनेका कारण भारतीय सीमा सिल


वीरगञ्ज, पर्सा- भारतीय सीमा नजिकै पर्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका तनावग्रस्त बनेको कारण भारतीय सीमा सिल गरिएको छ। धनुषा र पर्सा जिल्लामा भर्खरै फैलिएको साम्प्रदायिक तनावपछि सुरक्षा सतर्कता उच्च राखिएको छ।

धनुषा जिल्लाको एक मस्जिदमा तोडफोड भएको घटनापछि साम्प्रदायिक हिंसा सुरु भएको थियो। घटनाका तस्वीरहरू सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन्। यसैबीच पर्सा र धनुषासहित मधेश प्रदेशका आठ जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।

पछिल्लो तनावको मुख्य कारण केही दिनअघि जनकपुरधाममा टिकटकमा अपत्तिजनक भिडियो पोस्ट गरेको विषय रहेको छ। हैदर अन्सारी र अमानत अन्सारी नामक दुई युवाले हिन्दुस्तानको नाम लिँदै धार्मिक भावनालाई चोट पुर्याउने खालको भिडियो बनाएका थिए। स्थानीय अगुवाहरूले दुवैलाई प्रहरीको जिम्मा लगाएका थिए। प्रहरीसँग छलफल भइरहँदा केही युवाहरू आक्रोशित बने र त्यसैबीच मस्जिदमा आक्रमण भएको थियो। धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको छ।

पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्यु समय पनि बढाएको छ। मंगलबार दिउँसो १ बजे सकिने कर्फ्युलाई आज साँझ ६ बजेसम्म थपिएको छ। यसअघि सोमबार बेलुका ६ बजेबाट मंगलबार बिहानसम्म र आज बिहान ८ बजेबाट दिउँसो १ बजे सम्म कर्फ्यु लागू गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै चार किल्ला क्षेत्र तोकी कर्फ्यु जारी गरिएको हो। कर्फ्यु अवधिमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा घेराउ गर्न पूर्णरूपमा निषेध गरिएको छ।

कर्फ्यु क्षेत्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट तोकिएको छ। प्रशासनले अत्यावश्यक सेवाबाहेक घर बाहिर ननिस्कन अनुरोध गर्दै, निस्कनै परे नजिकको सुरक्षाकर्मीको समन्वयमा मात्रै आवतजावत गर्न निर्देशन दिएको छ। एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालनमा अनुमति दिइएको छ।

पार्टी, प्रशासन र सुरक्षा निकायहरूले सतर्कता उच्च राख्दै तनाव नियन्त्रणमा राख्न प्रयासरत छन्।

प्रतिक्रिया