आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा


काठमाडाैं- आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ नेपाल आइपुगेकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले आज शीतल निवासमा आयाेजित एक कार्यक्रममा ट्रफी सार्वजनिक गरे।

ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताए। उनले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे ।

नेपालमा विश्वकप ट्रफी ल्याइ नेपाली क्रिकेट र समर्थककाे उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिएकाेमा उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति धन्यवाद व्यक्त गरे।

टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आइपुगेकाे हो। नेपालमा यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी ल्याइएको थियो।

टी–२० विश्वकपको १०औं संस्करण आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ। नेपालसहित २० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। यो समूहमा नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन्।

प्रतिक्रिया