
मुगुमा नेपाली सेनाको बोलेरो दुर्घटना, अमल्दार हरि सिंह ऐरीको मृत्यु
मुगु- मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ स्थित आलाधुने खोलाको मोडमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एकजना अमल्दारको मृत्यु भएको छ।
आइतबार राति रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री हनुमानध्वज गुल्म पोस्टबाट कनकासुन्दरी गाउँपालिका–१ बुलबुले पोस्टमा बन्दोबस्ती सामग्री पुर्याएर फर्कदै गर्दा नेपाली सेनाको ना १ झ १०३९ नम्बरको बोलेरो जिप राति १०:२० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
दुर्घटनामा बैतडी जिल्ला पाटन नगरपालिका–४ बगाडी घर भई हाल हनुमानध्वज गुल्म रारामा कार्यरत अमल्दार हरि सिंह ऐरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याइएको भए पनि उपचारको क्रममा राति २:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार उद्धार टोलीले अमल्दार ऐरीलाई अचेत अवस्थामा अस्पताल पुर्याएको भए पनि उनको ज्यान जोगाउन सकिएको थिएन।
मृतकको पोस्टमार्टम जिल्ला अस्पताल मुगुमा सम्पन्न गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत अन्त्येष्टिका लागि जन्मघर बैतडी पठाइएको छ।



कागजपत्र |
