सातदोबाटोमा जेनजी शहीद स्मृति पार्क निर्माण गरिने


काठमाडौं– युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औँ बोर्ड बैठक बुधबार सम्पन्न भएको छ।

बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ (तेस्रो संशोधनसहित) पारित गरेको छ। १०औँ राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्न खेल सङ्ख्या र खेलाडी कोटाबारे कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमलाई पत्राचार गर्ने निर्णय पनि भएको छ।

यस्तै, परिषद्ले नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय–व्यय पास गरेको छ।

बैठकले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेनजी शहीद स्मृति पार्क निर्माण गर्ने र त्यहाँको अडिटोरियम हललाई ‘जेनजी स्मृति अडिटोरियम हल’ नामकरण गर्ने निर्णय गरेको छ।

साथै, बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ। बैठकमा परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता तथा बोर्ड सदस्यहरू उपस्थित थिए।

प्रतिक्रिया