
जाँचबुझ आयोगले बयानका लागि लेखकलाई पठायो पत्र
काठमाडौं- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनासम्बन्धी छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, लेखकलाई मंगलबार पत्र काटिएको छ। उनलाई आयोगमा ७ दिनभित्र बयान दिन उपस्थित हुन भनिएको छ।
आयोगले आन्दोलनको समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेका अधिकारीहरूको बयान लिसकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन थालेको हो। यसै सिलसिलामा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको आयोगले जनाएको छ।
सरकारका तर्फबाट भदौ २३ र २४ गतेको घटना छानबिनका लागि पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो। प्रारम्भमा आयोगलाई तीन महिनाको समय दिइएको थियो भने सरकारले पछिल्लो पटक एक महिना थप गरेको छ।



कागजपत्र |
