
भोलिबाट आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा
काठमाडौं- आफूलाई जेनजी आन्दोलनको प्रतिनिधि दाबी गर्ने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठनको मागसहित विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। समूहले सोमबारदेखि नै देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोजक मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार १०० दिनमै असफल भइसकेको दाबी गरे। जेनजी आन्दोलन कुनै व्यक्ति विशेषको ब्रान्ड बन्ने वा नेताहरूको सिँढी बन्ने माध्यम नभएको उनको भनाइ छ। ढुंगानाले भने, ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन। त्यसैले अब सर्वपक्षीय सरकार गठन हुनुपर्छ।’
उनले देशलाई राजनीतिक निकास दिन सबै पक्षलाई विश्वासमा लिन सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अहिलेको आवश्यकता सर्वपक्षीय सरकार भएको बताए। ‘आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ,’ उनले भने।
ढुंगानाले ०८४ को चुनाव ०८२ मै सार्नुपर्ने मागसहित आन्दोलन नभएको स्पष्ट पार्दै वर्तमान सरकारले कुनै निकास दिन नसकेको आरोप लगाए। ‘यो आन्दोलन चुनाव सार्न गरिएको थिएन। सरकारले निकास दिने काम गरेको देखिँदैन। सुशीला कार्की किन बारम्बार चुनावको रट लगाउनुहुन्छ ?’ उनले प्रश्न गरे।
ढुंगाना नेतृत्वको समूहले सोमबार बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेको छ।



कागजपत्र |
