मध्यरातमा रविपत्नी निकिता लेख्छिन्, ‘मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगें’


काठमाडाैं – रास्वपा सभापति रवि लामिछानेलाई बुटवल उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनकी पत्नी निकिता पौडेलले मध्यरातमा सामाजिक सञ्जालमार्फत् एउटा कथाको एउटा अध्याय सकिएको जनाएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत् रवि लामिछानेलाई नखाएको विष पनि लाग्दो रहेछ भनेर लेखेकी छिन् । उनी अगाडि लेख्छिन्, ‘यो बीचमा हामीले के भोगेनौं। ऊसले ‘कालकोठरी’ भोग्यो। र, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगें। उस्तै मान्छेले यो तहको हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले उसको दृढतालाई कानूनी पाटोबाट संरक्षणको हरसंभव प्रयास गरें।’

अदालतको आदेशसँगै लामिछाने आज बुटवल उच्च अदालतमा हाजिर भएर रिहा हुनेछन् । उनी अब जेलबाहिर बसेर नै मुद्दा लड्न सक्ने गरी अदालतले आदेश दिएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छः

बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ। केही समय लाग्यो। अघिल्लो वर्षको कात्तिकदेखि अहिलेसम्म के(के खेपियो-खेपियो, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुस्ख-हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।
यो बीचमा हामीले के भोगेनौं। ऊसले ‘कालकोठरी’ भोग्यो। र, मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगें। उस्तै मान्छेले यो तहको हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशोधको प्रहार खेप्दा मैले उसको दृढतालाई कानूनी पाटोबाट संरक्षणको हरसंभव प्रयास गरें।
अगाध आस्था र विश्वास रहेकाले यो दिनका लागि भगवानसँग कामना गरेकै थिएँ, केही ढिलै भए पनि आयो। कानूनी प्रकृया अझै बाँकी छ। र, भगवानप्रतिको उस्तै आस्थाको निरन्तरता पनि। न्यायिक प्रक्रियाबाटै तत्कालको यो राहतलाई दीर्घकालिक बनाएर हामी अझै सबल र सशक्त भएर उठ्ने छौं।
यहाँहरूको साथ, सहयोग र शुभेच्छाले हामीलाई थप ऊर्जा दिएको छ, पाइरहुँ। अहिलेसम्मको सद्भाव र समर्थनका लागि सबैलाई नमन्।

प्रतिक्रिया