
खगेन्द्रप्रसाद र रुद्रकलीलाई लिन आएको जहाज कलकत्ता डाइभर्ट
काठमाडौं- नेपालबाट दुईवटा हात्ती लैजान आएको तार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भारतको कलकत्तातर्फ डाइभर्ट गरिएको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकूल भएपछि विमान केही समय काठमाडौंको आकाशमा होल्ड गरिएको थियो। तर, इन्धन सकिन लागेकाले विमानलाई कलकत्ता डाइभर्ट गर्नुपरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले क्लिकमाण्डुलाई जानकारी दिए।
प्रवक्ता साहका अनुसार मौसममा सुधार आएपछि विमान आज दिउँसो भैरहवा फर्किने तयारीमा रहेको छ।
दोहा–भैरहवा–दोहा रुटमा सञ्चालन हुने उक्त कार्गो विमानमा दुई पाइलटसहित पाँच जना क्रु सदस्य रहेका छन्। विमानले अधिकतम ३ लाख ४७ हजार ८१४ केजी तौल लिएर टेकअफ गर्न सक्ने क्षमता राख्छ।
नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने निर्णय गरेपछि चितवनको सौराहाबाट सोमबार ती हात्तीहरू भैरहवा पुर्याइएको थियो। उपहारस्वरूप प्रदान गरिएका ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ नामका हात्ती मंगलबार बिहान भैरहवा ल्याइएका हुन्।



कागजपत्र |
