सबैभन्दा धनी व्यक्ति बनेर एलन मस्कले रचे नयाँ कीर्तिमान


काठमाडौं-  विश्वका धनी व्यक्तिहरूको सूचीमा एलन मस्कले नयाँ कीर्तिमान कायम गरेका छन्। करिब ६०० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका मस्क इतिहासमा पहिलो व्यक्ति बनेका छन्।

पछिल्लो २४ घन्टामै मस्कको सम्पत्तिमा करिब १६७ अर्ब डलरको उल्लेखनीय वृद्धि देखिएको छ। उनको सम्पत्ति बढ्नुको मुख्य कारण रकेट निर्माण कम्पनी स्पेसएक्सको मूल्यमा आएको तीव्र उछाल हो। यस वृद्धिसँगै मस्कले विश्वका सबै अर्बपतिलाई धेरै फराकिलो अन्तरले पछि पारेका छन्।

ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार एलन मस्कको कुल सम्पत्ति हाल करिब ६३८ अर्ब डलर पुगेको छ। यसले उनलाई विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा करिब ३७३ अर्ब डलरले अगाडि पुर्‍याएको छ।

मस्कको आम्दानी मुख्य रूपमा उनका कम्पनीहरू टेस्ला, स्पेसएक्स, एक्सएआई आदिबाट आउने गर्छ। हाल उनीसँग टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको ४२ प्रतिशत स्वामित्व रहेको छ।

विशेषगरी, स्पेसएक्सको मूल्य वृद्धिले मस्कको सम्पत्ति उछालको मुख्य कारण बनेको छ। मस्क टेस्लाबाट नियमित तलब नलिने, तर कम्पनीको शेयरमा आधारित पारिश्रमिक लिने प्रणाली अपनाउँछन्। पूँजी जुटाउन उनले आफ्ना शेयर बेच्नुको सट्टा ती शेयरलाई धितो राखेर ऋण लिने रणनीति अपनाएका छन्।

प्रतिक्रिया