
अस्ट्रेलियाको बन्डी बिचमा अन्धाधुन्ध गोली प्रहार: १० जनाको मृत्यु, धेरै घाइते
काठमाडौं– अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नी, बन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्। घटनास्थलमा दुई जना अधिकारीलाई पनि गोली लागेकाे छ।
घटनाको समयमा समुद्र तटमा यहुदी पर्व हनुकाह मनाउन भेला भएका सयौँ मानिसहरू थिए। प्रत्यक्षदर्शीहरूले समुद्र तटमा मानिसहरू भागिरहेको र केही भुइँमा लडेका देखिएको बताए। प्रहरीले हालसम्म गोलीकाण्डको कारण हनुकाह पर्वसँग सम्बन्धित हो कि होइन भन्ने पुष्टि गरेको छैन।
सिड्नी प्रहरीले दुई जनालाई पक्राउ गरेको र घटनास्थलबाट मानिसहरूलाई टाढा रहन अनुरोध गरेको छ। प्रत्यक्षदर्शी ह्यारी विल्सनले भने, “मैले कम्तीमा १० जनालाई भुइँमा लडेको र जताततै रगत देखेँ।”
अस्ट्रेलियन यहुदी कार्यकारी परिषद्का सह-प्रमुख एलेक्स राइभचिनले भने, “यदि हामीलाई जानाजान निशाना बनाइएको हो भने, यो कल्पना गर्न नसकिने स्तरको घटना हो। यो भयानक कुरा हो।”
यो हमला सिड्नीको लिन्ड्ट क्याफे बन्धक प्रकरणको लगभग ११ वर्षपछि भएको हो। तत्कालीन घटनामा एक बन्दुकधारीले १८ बन्धक बनाएका थिए र १६ घण्टापछि दुई बन्धक र बन्दुकधारी मारिएका थिए।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गोलीकाण्डको दृश्यलाई ‘स्तब्ध पार्ने र कष्टप्रद’ भनेका छन् र अस्ट्रेलियन फेडरल प्रहरी आयुक्त र न्यु साउथ वेल्सका प्रिमियरसँग कुराकानी गरेका छन्।
प्रहरीले घटना अनुसन्धान जारी राखेको छ र बन्डी बिच क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।



कागजपत्र |
