
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की
धुलिखेल- प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउने व्यवस्थालाई अन्त्य गर्ने सरकारले योजना बनाएको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा बोल्दै उनले उच्च शिक्षा क्षेत्रमा राजनीतिकरण रोक्ने उद्देश्यले ऐन संशोधन गर्न लागिएको जानकारी दिइन्।
प्रधानमन्त्री कार्की स्वयं काठमाडौँ विश्वविद्यालयकी कुलपति भएकी छन्। उनले भनिन्, “पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको छ। शिक्षामन्त्री महावीर पुनजीले शिक्षाविद्, विश्वविद्यालयका कुलपति, उपकुलपति र अन्य सरोकारवालाहरूसँग गम्भीर परामर्श गर्दै ऐन संशोधनको गृहकार्य गरिरहनुभएको छ।”
उनले थपिन्, “संशोधन पश्चात प्राज्ञिक व्यक्ति विश्वविद्यालयको कुलपति हुने व्यवस्था लागू हुनेछ। यसबाट नेपालको उच्च शिक्षा क्षेत्रमा राजनीतिकरणको परम्परालाई अन्त्य गर्न सकिने हाम्रो विश्वास छ।”
प्रधानमन्त्री कार्कीले काठमाडौँ विश्वविद्यालयले उच्च शिक्षा सुधारमा खेलेको भूमिका सराहनीय रहेको बताउँदै अन्य विश्वविद्यालयहरूलाई पनि यसका सकारात्मक पहलहरू अनुशरण गर्न आग्रह गरिन्।



कागजपत्र |
