
प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरबारमा वार्ता जारी
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँबीच सिंहदरबारमा औपचारिक भेटवार्ता सुरु भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँले सरकारसमक्ष राखेका २७ बुँदे मागका मुख्य विषयहरूबारे दुवै पक्षबीच छलफल भइरहेको छ। सोमबार बिहानदेखि जारी भेटवार्तामा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन्।
यसअघि प्रसाईँ नेतृत्वको समूहले सरकारलाई बुझाएको २७ बुँदे मागपत्रमा नेपालको विद्यमान संविधान पूर्ण रूपमा खारेज गरी नएा संविधान निर्माण गर्ने प्रस्ताव प्रमुख रूपमा समावेश थियो। साथै, वर्तमान सांविधानिक संरचनाको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था पुनर्स्थापना गर्ने तथा नेपाललाई पुनः हिन्दु राष्ट्रको रूपमा घोषणा गर्नेजस्ता मागहरू पनि उनीहरूले अघि सारेका थिए।
धर्मनिरपेक्षताको नीतिलाई परिवर्तन गर्दै हिन्दु राज्य पुनर्स्थापना गर्ने, देशमा विदेशी हस्तक्षेप रोक्ने, सार्वजनिक सुरक्षालाई प्रभाव पार्ने गतिविधिमा नियन्त्रण कडाइ गर्ने तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता दिलाउनेजस्ता बुँदाहरू पनि प्रसाईँका प्रमुख मागहरूमा परेका छन्। यी मागहरू उनले यही मंसिर ६ गते गृहमन्त्री अर्याललाई औपचारिक रूपमा बुझाएका थिए।



कागजपत्र |
