मोदीले पुटिनलाई दिए रूसी भाषामा अनुवादित गीता


काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिक ग्रन्थ ‘श्रीमद्भगवद्गीता’को रूसी भाषामा अनुवादित प्रति उपहार दिएका छन्।

दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका पुटिनलाई बिहीबार मोदीले आफ्नो आधिकारिक निवासमा सत्कार गर्ने क्रममा उक्त ग्रन्थ हस्तान्तरण गरेका हुन्। उपहारबारे जानकारी दिँदै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, “राष्ट्रपति पुटिनलाई रूसी भाषामा प्रकाशित गीताको एक प्रति दिएँ। गीताको शिक्षा विश्वभर लाखौं मानिसका लागि प्रेरणादायी छ।”

राष्ट्रपति पुटिन बिहीबार विशेष विमानमार्फत भारत पुगेका थिए। दिल्ली विमानस्थलमा उनलाई औपचारिक सम्मान गरिएको थियो। स्वागत पछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमार्फत मोदीको सरकारी निवासतर्फ प्रस्थान गरेका थिए। दुई नेताबीच उच्चस्तरीय भेटवार्ता तथा विभिन्न द्विपक्षीय मुद्दामा छलफल हुने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया